चितुवाको छालासहित ३ जना इप्रका कोहलपुरको नियन्त्रणमा

कोहलपुर। सल्यानबाट विक्री गर्न ल्याएको दुई थान चितुवाको छालासहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका-३ का ३१ वर्षीय जीतबहादुर डिसी कुमाख गाउँपालिका-७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन्।

उनीहरुलाई चितुवाको छालासहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आइतबार साँझ बाँके राप्तीसोनारी गाँउपालिका-१ कुसुमबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।

जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद छाला जीतबहादुरले दुई वर्ष पहिले आफैले पासो थापेर मारेको चितुवाको रहेको प्रहरीले जनाएको छ।

डिडीले चितुवाको छालाको फोटो खिचेर मोबाइलमा राखेको दिपक रावतले देखेपछि उनैको सल्लाहमा छाला बिक्री गर्न नेपालञ्गज ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ। उक्त छाला नेपालञ्गजमा ४० लाखदेखि ६० लाख सम्ममा बिक्री गर्ने योजना रहेको खुलेको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रया दिनुहोस्