पूजा पाठसहित सुरुङमा पठाइयो मेलम्चीको पानी

काठमाडौं। मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ लगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन्। गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो। त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छोडिएको हो।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ। गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ।

मन्त्री थापाले बाँधस्थलमा रहेको पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिच्ने बेला ब्राह्मण पुरोहितले मन्त्रोच्चारण गरेका थिए भने बाहिर बौद्ध पुरोहितले पनि मन्त्रोच्चारण गरेका थिए। मन्त्री थापाले स्विच थिचेर सुरुङमा पानी पठाएपछि आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने प्रतिक्रिया दिए। त्यसक्रममा मन्त्री थापाले २ महिना सुरुङ्गमा पानी पठाएर परीक्षण सकिएपछि पिउने पानी नियमित छाडिने पनि बताएका छन्।

प्रतिक्रया दिनुहोस्