प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसीयालीमा बौनियामा विजय जूलूस

बौनिया,कैलाली । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि कैलालीको बर्दगोरियामा खुशीयाली मनाइएको छ ।‘प्रचण्ड–नेपाल’ समर्थकहरुले जनताको मतको कदर गर्दै सच्चा न्याय दिलाएको भन्दै बुधबार दिउँसो खुशीयाली मनाइएको हो ।

प्रधानमन्त्रीको हैसियतले केपी ओलीबाट गरिएको असंबैधानिक निर्णय सर्बोच्च अदालतले उल्टाएपछि यसको खुशीयालीमा बर्दगोरिया गाउँपालिकाको मुडाबजार हुँदै बौनिया बजारसम्म र्याली समेत निकालियो । र्याली पश्चातको कोणसभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री ओलीको संसद विघटनप्रति आत्मआलोचना गर्दै राजीनामा दिन चेतावनी दिए ।

उनीहरूले नैतिकताको हिसाबले समेत ओलीले प्रधानमन्त्रीको पदमा बस्न नमिल्ने बताए । संसद विघटनको घटना असंबैधानिक हो ,जसको फैसला सर्बोच्च अदालतले गरिसकेको छ । अब प्रधानमन्त्रीको पदमा ओली के नैतिकताको आधारमा बस्ने उनले राजीनामा दिनुपर्छ । यदि दिएनन् भने प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याउने उनीहरूले बताए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर दुई का अध्यक्ष भेखु चौधरी,बर्दगिरिया गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारु, नेकपा बर्दगोरिया अध्यक्ष राम साउद, क्षेत्र नम्बर (दुई)का नेता नन्द साउद लगाएतले बोलेका थिए ।

नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि सिफारिस गरेका थिए।

 

प्रतिक्रया दिनुहोस्