गौतमबुद्ध रंगशालालाई १ लाख तिरे कुर्चीमा नाम लेखाउन पाईने

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्चीमा नाम लेखाउन पाउने भएका छन्।

फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्याराफिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ।

कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ।

रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ। ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ।

यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ। पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको सुरुवात गरेको हो। फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने अनुमान गरेको छ।

भरतपुर नगरपालिकासंगको सहकार्यमा जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ। २०७५ साल माघ १६ गते भरतपुर महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो।

खर्च विवरण सार्वजनिक

गौतमवुद्ध रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ। सोमबार सार्वजनिक विवरणअनुसार हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र आर्थिक संकलन भएको छ।

रंगशाला निर्माण गर्दा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले मैदानको काम ८५ प्रतिशत र प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको बताएका छन्।

विस्तृत परियोजना प्रतिवेदनअनुसार रंगशाला निर्माणको कूल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रया दिनुहोस्