प्रतिबन्धित विप्लव समूहले पनि गठन गर्यो वार्ता समिति

काठमाडौं। सरकारले वार्ता समिति बनाएपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली गठन गरेको छ।

पार्टी महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जनाएका हुन्।

‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो पार्टी सहमत भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं।’

यसअघि सरकारले मंगलबारै गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। दुई सदस्यीय सरकारी वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।

सरकारले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो।

प्रतिक्रया दिनुहोस्