बेपत्ता भएको १८ दिनपछि मृत भेटिएकी युवतीको शव पोस्टमार्टम गरिँदै

गुल्मी। गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ।

रेसुङ्गा नगरपालिका-३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

युवतीको शव सोमबार फेला परे पनि माइती पक्ष घटनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ। गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको शव १८ दिनपछि स्थनीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए।

घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। युवतीको हत्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दोषी पत्ता लगाउन माग समेत गरेका छन्।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रया दिनुहोस्