बर्दगोरियालाई चैत्रभित्र साक्षर स्थानीय तह घोषणा गरिदै

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकालाई यसैवर्ष भित्र साक्षर स्थानीय तहको रुपमा घोषणा गरिने भएको छ । साक्षर नेपाल घोषणा वर्ष २०७६ मा उल्लेखित १२ वटा मापदण्ड अन्तर्गत ९५ प्रतिशत घोषणा गर्न सकिने नीतिगत ब्यवस्था बमोजिम यही आउँदो चैत्र महिनामा साक्षर गाउँपालिका घोषणाको तयारी भएको हो ।

जसअन्तर्गत सोमबार वडा नम्बर १ लाई पहिलो साक्षर वडा घोषणा गरिएको छ । कार्यक्रमका गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौरा थारुले यसअघि नै पालिकालाइ साक्षर घोषणा गर्ने लक्ष राखिएपनी कोरोना कहरले त्यो पूरा हुन नसकेको बताईन । उनले साक्षरता संगै प्रविधिसँग खेल्न र यसबाट फाइदा लिन सक्ने जनशक्ति तयार गर्नु प्रमुख चुनौति रहेको बताईन । उनले सिकेका कुरालाई निरन्तरता दिए मात्रै सिकाई उपलब्धि हुनेहुदा यसतर्फ सचेत बन्नुपर्नेमा जोड दिइन ।

साक्षरता अभियान सबैका लागि शिक्षाको अवसर प्रदान गर्ने एक महत्वपूर्ण शैक्षिक अभियान भएको भन्दै उनले साक्षरता मानिसको जीवनस्तर र विकाससँग प्रत्यक्ष रुपमा सम्बन्धित भएकाले नागरिकको सुधारीएको जीवनस्तर र मानव विकासको स्तरलाई उकास्न सबैको साथ र सहयोग आवश्यक रहेको बताईन ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले सरकारले निर्धारण गरेका विभिन्न सूचकहरु पुरागरी सिङ्गो पालिकालाई साक्षर स्थानीय तहका रूपमा घोषणाको तयारी स्वरुप वडा नम्बर १ लाई पालिकाकै पहिलो साक्षर वडा घोषणा गरिएको बताईन । उनकाअनुसार पालिकाभित्रका ६ वटै वडालाई पालैपालो साक्षर घोषणा पश्चात् गाउँपालिकालाई औपचारिक कार्यक्रमसहित साक्षर स्थानीय तह घोषणा गरिनेछ ।

२०६७ मा गरिएको सर्वेक्षण अनुसार पालिकामा (१५ देखि ५९ वर्ष उमेर समुहका) निरक्षरको सङ्ख्या ८ हजार ११९ रहेको हालसम्म ती सवैलाई साक्षर पारिएको दावी गरिएको छ ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले आफ्नो वडालाई पालिका कै पहिलो साक्षर वडा घोषणा गर्ने कार्यमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उनले साक्षरता अभियान राज्यवाट मात्रै सम्भव नभएको भन्दै घर घरबाटै निरक्षर उन्मुलनको कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा बर्दगोरियाका तर्फबाट स्थानीय देवेन्द्र शाहीले शिक्षा क्षेत्रको विकासमा सबैको सहकार्य हुन जरुरी रहेको औल्याए । उनले साक्षर घोषणा गरेर मात्र नहुने भन्दै घोषित कुरालाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिए ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। जसमा निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने ब्यबस्था छ।

 

 

प्रतिक्रया दिनुहोस्