सभ्य समाज निर्माणका लागि सबै अग्रसर रहन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकर्षण गराएकी छिन्।

१११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको समारोहको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

‘महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्,’उनले भनिन्,‘हाम्रो देशमा संवैधानिक तथा कानुनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन्। यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ।’

लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीय रूपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ।

सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७ सार्वजनिक गरेकामा उनले खुशी व्यक्त गर्दै सरकारलाई धन्यावाद समेत दिइन्।

महिलालाई असमानताको दृष्टिबाट हेर्न नहुने बताउँदै उनले त्यसलाई परिवर्तन गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजको चेतना नै परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन्। उनले कार्यक्रममा अन्तर्राष्ट्रिय साहसी महिला (इडब्ल्युओसी) पुरस्कार पाएकी तेजाब आक्रमण पीडित पर्साकी मुस्कान खातुनलाई सम्मानसमेत गरेकी थिइन्।

प्रतिक्रया दिनुहोस्