जिल्ला कारागार कैलालीभित्र योग प्रशिक्षण सुरु

धनगढी। जिल्ला कारागार कैलालीमा योग प्रशिक्षण थालिएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई लक्षित गर्दै आज सोमबारदेखि योग प्रशिक्षण शिवरि सुरु गरिएको हो।

आजबाट सुरु गरिएको प्रशिक्षणमा करिब १ सय जना कैदीबन्दीको सहभागिता रहेको योग प्रशिक्षक श्यामराज श्रेष्ठले बताए। बिहान ६ बजेदेखि ८ बजेसम्म योगको समय तोकिएको छ। योग शिविरको अवधि पाँच दिन रहेको उनले बताए।

कैलाली कारागारमा जम्मा ३०० को हाराहारीमा कैदीबन्दी छन्। कारागारको ३ ब्लकमा रहेका महिला तथा पुरुष बन्दीहरुलाई प्रशिक्षण दिइने छ। कारागारको २ ब्लकमा पुरुष र एक ब्लकमा महिला रहेको जिल्ला कारागार कैलालीले जनाएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी, जिल्ला स्वास्थ्य कार्यालय कैलाली र पतञ्जलि योग केन्द्र धनगढीको समन्वयमा प्रशिक्षण सुरु गरिएको हो।

प्रतिक्रया दिनुहोस्