‘सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छौं, एमाले र माओवादी भएर जान्छौं’: नारायणकाजी श्रेष्ठ

काठमाडौं। प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले नेकपाबारे गरेको निर्णयप्रति गम्भीरतासाथ लिएको बताएका छन्।

आज पेरिसडाँडामा बसेको यो समूहको स्थायी समितको बैठकमा सर्वोच्च अदालतले गरेको निर्णयबारे निकै गहिरो ढंगले छलफल भएको उनले बताए।

नेकपा नामका लागि आफूहरूले दिएको रिट निवेदनभन्दा बाहिर गएर सर्वोच्चले फैसला गरेको र यसलाई राजनीतिक विषय बनाएको प्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘रिट निवेदकभन्दा, मागदाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने फैसला सर्वोच्चले सुनायो। यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। हाम्रो गम्भीर असहमति छ’, उनले भने।

यसबारे कानुनी ढंगले उपचार खोज्ने पनि बैठकमा निर्णय भएको उनले बताए। २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरसाथ लिएर अगाडि बढ्ने छलफल भएको पनि उनको भनाइ थियो। पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको उनले बताए।

साथै सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने पनि उनले बताए। पार्टी एकता सही हो वा गलत भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट उत्तर दिएनन्। तर तत्काललाई साबिकै नेकपा माओवादी र एमाले भएर जाने र निर्वाचन आयोगमा गएर टुंगो लाग्ने बताए। एकता पहल जारी राख्ने पनि उनको भनाइ थियो।

प्रतिक्रया दिनुहोस्