श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरी

बुटवल। १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रुपन्देहीका केही स्थानीय तहले श्रमिक महिलालाई साइकल वितरण र एकल महिलालाई रातो पछ्यौरी ओढाएर सम्मान गरेका छन्।

तिलोत्तमा नगरपालिकाले ५१ जना श्रमिक महिलालाई नारी दिवसको अवसर पारेर सोमबार साइकल प्रदान गरेको छ। श्रमिक महिलाहरुको सम्मानको साथै उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साइकल प्रदान गरिएको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।

श्रमिकको आर्थिक-सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले १७ वटा वडाका ५१ जनालाई साइकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ। महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साइकल हस्तान्तरण गरिन्।

महिला दिवसकै अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगारः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत आयोजना गरेको छ। १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम भइन्। कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने भन्दै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन्।

यसैबीच रुपन्देहीको सियारी गाउँपालिकाले एकल महिलालाई रातो टिका र रातो पछ्यौरी ओढाएर सम्मान गरेको छ। नारी दिवसको अवसर पारेर गाउँपालिकाका ६५ जना एकल महिलालाई गाउँपालिकाले सम्मान गरेको हो। एकल महिला पनि अन्य महिला जस्तै समान रहेको र समाजमा रहेको रुढिवादी चिन्तनलाई हटाउन गाउँपालिकाले नारी सम्मान अभियान नै सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गले बताइन्।

गाउँपालिकाले नै सार्वजनिक समारोह गरेर एकल महिलालाई रातो टिका र रातो पछ्यौरी ओढाइदिएपछि २६ वर्षीया एकल महिला सीता बस्याल भट्टराईले खुसी व्यक्त गरिन्।

‘२० वर्षको उमेरमै श्रीमानको मृत्युको पीडा एकातिर र अर्कोतिर समाजको रुढिवादी संस्कारका कारण हुने भेदभावले पीडामाथि पीडा थियो’, बस्यालले भनिन्, ‘समाजको डरले रातो पहिरन लगाउन सकेकी थिइन, अब गाउँपालिकाले समाजलाई अगाडि राखेर रातो टिका र रातो पछ्यौरी दिएर सम्मान गरेपछि धेरै सहज महसुस भयो।’

यस्तै गाउँपालिकाले व्यावसायिक क्षेत्रमा लागेर आर्थिक रुपमा सबल बनेका महिलालाई समेत सम्मान गरेको छ।

प्रतिक्रया दिनुहोस्