यमनको आप्रवासी शिविरमा आगलागी, ६० जनाको मृत्यु

काठमाडौं। यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर ६० पुगेको छ। मंगलबार बिहानसम्ममा आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको पनि बताइएको छ। कतिपय ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका सुरक्षा अधिकारीले जानकारी दिए।

साथै दुर्घटनामा परेर एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। सो संगठनले यसमा परेर जलेका र अरु घाइतेहरुलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।

आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेको र केही भागदौडमा परेर घाइते भएका छन्।

उनले मंगलबार पनि आफ्नो ट्वीटरमार्फत् केही घाइतेहरुको अवस्था गम्भीर रहेको पनि जानकारी दिए। आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिए।

सोमबा मात्र आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो। सोमबार त्यसमा परेर आठ जनाको मात्र मृत्यु भएको थियो। ज्यान जानेमा कतिपय नागरिक अवैध रुपमा अफ्रिकाबाट यमन पसेका पनि रहेका छन्। उनीहरु त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको छ। आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो। तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन्। सो आगलागी के कसरी भएको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको छ।

यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ। यहाँको हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ। यस हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ।

प्रतिक्रया दिनुहोस्