दुर्घटना न्यूनीकरणका लागि बर्दगोरियामा सामुहिक पहल,१२ स्थानमा सांकेतिक बोर्ड

रमेश बम, बौनिया(कैलाली)। सवारी दुर्घटना न्यूनीकरणका लागि बर्दगोरिया गाउँपालिकामा सामुहिक पहल थालिएको छ । सडक र सवारी दुर्घटनाको जोखिम कम गर्न तथा पैदल यात्रु र सवारी चालकलाई समेत दुर्घटनाको जोखिम बारे जानकारी दिन बर्दगोरिया गाउँपालिका ,वडा कार्यलय तथा इलाका प्रहरी कार्यालय बौनियाले सामुहिक पहल थालेका हुन ।

पछिल्लो समय सवारी दुर्घटनाका घटना वृद्धि हुँदै गएपछि यसको रोकथामका लागि यहाँका विभिन्न स्थानमा ट्राफिक प्रहरीले समेत आफ्नो सक्रियता देखाएको छ । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायको सहयोग र समन्वयमा प्रहरीले यहाँका विभिन्न स्थानमा जनचेतनामूलक ट्राफिक सचेतना होडिङ बोर्ड तथा सांकेतिक बोर्ड राखेको छ ।

यसैक्रममा मंगलवार बर्दगोरिया गाउँपालिकाको मुख्य सडकका विभिन्न ६ वटा स्थानमा सचेतनामुलक होडिङ बोर्ड राखिएको छ भने बाकी ६ वटा स्थानमा बुधबार राखिने इप्रका बौनियाले जनाएको छ । दुर्घटना बढी हुने गरेका स्थान र राजमार्गहरूको संवेदनशील स्थनामा यी बोर्ड राखिएको प्रहरीले जनाएको छ ।

सांकेतिक बोर्डमा दुर्घटनाबाट बच्ने उपायबारे चेतनामूलक सन्देश लेखिएको छ भने बाटो काट्ने उपाय बारे जानकारी समेत समावेश गरिएको छ । सांकेतिक होर्डिङ बोर्डहरुले दुर्घटना न्युनीकरणमा मद्धत गर्ने विश्वास लगिएको छ । यसले सवारी चालकहरु तथा यात्रुहरुलाई सचेत गर्ने भएकाले दुर्घटनामा कमी आउने विश्वास प्रहरीले लिएको छ ।

ट्राफिक नियमको पालना गरौँ, गाडी विस्तारै हाकौँ, झुण्डियर वा छतमा यात्रा नगरौँ, मापसे गरी सवारीका साधन नहाकौँ लगायतका सन्देश लेखिएका होर्डिङ बोर्डहरु सम्भावित सवारी दुर्घटना क्षेत्र लगायत सडक छेउमा राखिएका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्