सफ्टवेयर सोर्स कोड दुरुपयोग गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं। सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

सांकेतिक तस्बिर

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका-५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका-५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका-७ का शंकर ज्ञवाली रहेका छन्। उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक हुन्।

उनीहरुले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए।

प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद लिएको छ। कम्पनीका ३ जना सञ्चालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रया दिनुहोस्