प्रत्यक नेपालीको टाउकोमा ५१ हजार १ सय ऋण, संघीयता धान्न धमाधम ऋण बटुलिदै

काठमाडौं । संघीय संरचनाका कारण सरकारले प्रत्येक वर्ष ल्याउने गरेको बजेटले राष्ट्रको वैदेशिक ऋणभार बढ्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै वैदेशिक ऋण ६४ अर्ब ६८ करोड रूपैयाँ र आन्तरिक ऋण ५१ अर्ब रूपैयाँ गरी १ खर्ब १५ अर्ब ६८ करोड रूपैयाँ ऋण परिचालन भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब २५ अर्ब आन्तरिक ऋण र २ खर्ब ९९ अर्ब ५० करोड रूपैयाँ बाह्य ऋण गरी ५ खर्ब २४ अर्ब ५० करोड रूपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो । राष्ट्रको ऋणभारलाई देशको जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा करिब ५१ हजार १ सय रूपैयाँभन्दा बढी ऋण थोपरिएको छ ।

सार्वजनिक ऋण ब्यवस्थापनको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्म नेपालको कुल ऋण ९ खर्ब १७ अर्ब ३० करोड रूपैयाँ थियो । त्यसमध्ये ५ खर्ब २६ अर्ब २० करोड रूपैयाँ वैदेशिक ऋण थियो भने आन्तरिक ऋणको हिस्सा ३ खर्ब ९१ अर्ब २० करोड रूपैयाँ थियो । अहिले कुल ऋण १५ खर्ब ३५ करोड ५६ रूपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६७.३९ प्रतिशत अर्थात ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँले थप भएको छ । आर्थिक वर्ष २०७४र७५ को तुलनामा आन्तरिक ऋण २ खर्ब ७३ अर्ब ५३ करोड अर्थात ६९.९२ प्रतिशतले बढेर ६ खर्ब ६४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । त्यस्तै वैदेशिक ऋण ३ खर्ब ४४ अर्ब ८२ करोड अर्थात् ६५.९४ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ८२ करोड रूपैयाँ पुगेको छ ।

यो सरकार गठन हुँदा कुल गार्हस्थ्य उत्पादनमा ऋणको अंश ३० प्रतिशत रहेकोमा अहिले त्यस्तो अनुपात बढेर ३५.७१ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३९ खर्ब ४३ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ । सरकारले लिएको ऋणको ब्याज तिर्नका लागि प्रत्येक वर्ष ठूलो मात्रामा बजेटको व्यवस्था गर्नुपर्ने अवस्था छ । सरकारको अनावश्यक दायित्व, ऋणको ब्याज, खर्चमा अनुशासन कायम गर्न नसक्दा प्रत्येक वर्षको बजेटमा ऋणको अंश तीब्ररूपमा बढिरहेको छ ।

यसैगरी सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साँवा १२ अर्ब १३ करोड ५१ लाख रूपैयाँ र ब्याजतर्फ १० अर्ब ८९ करोड ६९ लाख रूपैयाँ भुक्तानी गरेको सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयको दोस्रो क्वाटरको प्रतिवेदनले देखाएको छ ।

गत वर्षको सार्वजनिक ऋण प्रतिवेदननुसार नेपालले विश्व बैंकको आईडीएबाट सबैभन्दा धेरै ४७.९ प्रतिशत, एसियाली विकास बैंकबाट ३३.८ प्रतिशत, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीबाट ४.५४ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्राकोषबाट ३.२७ प्रतिशत, चीनको एक्जिम बैंकबाट ३.२४ प्रतिशत, भारतको इक्जिम बैंक लाइन अफ क्रेडिटबाट ३.०९ प्रतिशत ऋण लिएको छ ।

 

प्रतिक्रया दिनुहोस्