एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण तयारी

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका नेता खनाललाई चिकित्सकले तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले जनाएको छ। त्यसअनुसार परिवारले पनि मिर्गौला प्रत्यारोपणको आवश्यक तयारी थालेको छ।

स्वास्थ्यमा समस्या आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए। नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परीक्षणमा उनको मिर्गौला फेल भएको देखिएको थियो। खनालले आफ्नो स्वास्थ्यको बारेमा पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन्।

स्वास्थ्यका कारण उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएका बैठकमा गएका छैनन्। खनाल ओलीप्रति आक्रामक देखिएका छन्।

शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले असन्तुष्ट समूहका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गर्‍यो। माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाालमाथि स्पष्टीकरण सोध्ने निर्णय हुँदा सो समूहका पहिलो वरीयताका नेता खनाललाई भने जोगाइएको छ।

खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि कारबाही नगर्ने मुडमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पुगेको स्रोतको दाबी छ।

प्रतिक्रया दिनुहोस्