आदिवासी-जनजाति साहित्यकार महासंघको भेलाः आज अध्यक्ष चयन हुने

काठमाडौं। शनिबार सुरु भएको ‘आदिवासी-जनजाति साहित्यकार महासंघ’ नेपालको प्रथम राष्ट्रिय भेलाले आज अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने भएको छ।

शनिबारदेखि ललितपुरका यलाखिम रेष्टुरेण्टमा सुरु भएको भेलाको उद्घाटन जनकवि दुर्गालाल श्रेष्ठको ‘सी अथें छाय् स्योतुँ भाय्’ शीर्षकको कविता वाचन गरेर गरिएको थियो। उक्त कविता नेपाल भाषामा रजनी मिला र खस भाषामा कवि चन्द्रवीर तुम्बापोले वाचन गरेका थिए।

उद्घाटन मन्तव्य व्यक्त गर्दै अनुसन्धानकर्ता कैलाश राईले आदिवासी जनजातिहरु प्रकृतिको अनुकुलनमा बाँच्दै आएको समुदाय रहेको बताइन्। उनका अनुसार आधुनिक राज्यको विकाससँगै आदिवासीहरु सबैभन्दा बढि उत्पीडन र उपनिवेशको सीकार भएका छन्।

यस्तै नागरिक आन्दोलन अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैँमा प्रतिरोधको नाम भएको बताए। वाग्लेले भने, ‘नेपालको भविष्यको निर्माणमा आदिवासीहरुको मौलिकताले धेरै योगदान पुर्याउनेछ। किनकि नेपाल बहुभाषिक छ तर सोहि बहुभाषा दमनमा छ।’

महासंघको संयोजक रहेका साहित्यकार राजन मुकारुङका अनुसार संस्थाले आदिवासी जनजाति साहित्यकारको साझा मोर्चा बनेर अगाडि बढ्ने बताए।

‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो’ मुकारुङले भने, ‘अब नयाँ सौन्दर्य निर्माण गर्ने हो। सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्न यो महासंघ निर्माण भएको हो।’

प्रतिक्रया दिनुहोस्