कोरोनापछि पहिलोपटक अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिँदै नेपाल

काठमाडौं। कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो।

मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित २५ ओटा कम्पनी सहभागी हुने छन्।

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनन्जय रेग्मीले बताए।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ। तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलेको अवस्थामा कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको उनले बताए।

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाउने योजना बोर्डको छ। पछिल्लो पटक सरकारले नेपाल-भारत यातायात सुचारु गर्ने निर्णय गरेकोछ। यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल-भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहको छ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको रेग्मीले बताए। भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ।

कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो।

प्रतिक्रया दिनुहोस्