अन्नपूर्ण हिमाल आरोहण गर्न पत्रकार पूर्णिमा श्रेष्ठ म्याग्दीमा

म्याग्दी। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष पूरा भयो। उनीहरूले सन् १९५० जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते ‘अन्नपूर्ण पहिलो’को सफल आरोहण गरेका थिए।

यसरी आरोहण भएको ७० वर्षपछि पेशाले पत्रकार र हिमाल आरोहीको छवि बनाएकी पूर्णिमा श्रेष्ठ पनि यो वसन्तमा ‘अन्नपूर्ण पहिलो’ चढ्ने साहससहित म्याग्दीमा आएकी छन्।

गोर्खा जिल्लाको आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शनिबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सफलताको कामनासहित टोलीलाई बिदाई गरेका छन्।

अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ। पूर्णिमाले पनि मौरिसको पदचिह्न पच्छ्याउँदै अन्नपूर्ण चुचुरोतिरको यात्रा गर्नेछिन्।

उनलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठिन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने सपनासहित उनी त्यसतर्फ जान लागेकी हुन्।

८०९१ मिटर अग्लो ‘अन्नपूर्ण पहिलो’आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। कारण एउटै छ: संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा भएपनि अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन छ। नेपाली महिलाहरू त यसको चुचुरोमा पुगेकै छैनन्।

गण्डकी प्रदेश सरकारले उनको आरोहणलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ। सफलतासँगै उनको नाममा पहिलो महिला सफल आरोहीको कीर्तिमानी रहनेछ।

गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु रहेका छन। पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्।

प्रतिक्रया दिनुहोस्