‘आईएसको गतिविधि दुई वर्षपछि फेरि बढ्दै’

एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) को गतिविधि पुनः बढ्न थालेको भन्दै विश्वका विदेशमन्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। सिरियामा पराजित भएको दुई वर्षपछि आईएसले पुनः आतंकवादी आक्रमण शुरु गरेको उनीहरुले बताएका छन्।

‘इस्लामिक स्टेटविरुद्ध विश्वव्यापी संगठन’ को भर्चुअल बैठकमा विदेशमन्त्रीहरुले केही समययता अफ्रिकाका मुलुकमा भएको आक्रमणबारे पनि चिन्ता गरेका छन्। केही दिनअघि मात्र मोजाम्बिकको पल्मा सहरमा भएको चरमपन्थी आक्रमणमा दर्जनौंको मृत्यु भएको थियो।

मंगलबार बेल्जियम र अमेरिकी विदेशमन्त्रीको अनुरोधमा आईएसविरुद्धको विश्वव्यापी गठबन्धनको भर्चुअल बैठक भएको थियो। संगठनको बैठकमा नेटोका महासचिव पनि सहभागी थिए।

बैठकमा उपस्थित नेताहरुले चरमपन्थी आक्रमणको जोखिममा पूर्वी र पश्चिमी अफ्रिकी मुलुक रहेको बताएका थिए। सन् २०१९/२०२० मा यो क्षेत्रमा चरमपन्थी आक्रमण एक तिहाइले बढेको छ। ‘इस्लामिक स्टेटविरुद्ध विश्वव्यापी संगठन’मा विश्वका ८३ मुलुक सामेल छन्। यसमा अमेरिका, अष्ट्रेलियाका साथै धेरै युरोपेली तथा अफ्रिकी मुलुक पनि छन्।

पछिल्लो समय पूर्वी अफ्रिकी मुलुकमा आतंकवादी आक्रमण बढ्दो छ। त्यस्तै इराक र सिरियामा पनि आईएसले आफ्नो सञ्जाल पुनः स्थापित गर्न सफल भएको विश्वव्यापी संगठनको दाबी छ।

प्रतिक्रया दिनुहोस्