बाह्रौं राष्ट्रिय जनगणनाको तयारी तीव्र हुँदै

काठमाडौं। राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्यांक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको ध्यानाकर्षण गराएको छ। सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ।

समितिको बुधबारको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै ख्याल राख्न सुझाव दिए।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको भन्दै उनीहरुले सही तथ्यांक संकलन गर्न गणकहरु प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको बताए।

जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने त्यस अवसरमा जानकारी दिइयो।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्यांक संकलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रबिन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिए।

नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ। यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ रहेको छ।

योजना आयोगका सदस्य डा. रामकुुमार फुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठीक तथ्यांक आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्यांक संकलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे।

तथ्यांक विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए।

युवालाई गौरव बोध होस् भन्ने हेतुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकोमा यस पटक ठीक विपरीत सोही प्रतिशतका युवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ’, उनले भने।

प्रतिक्रया दिनुहोस्