बर्दगोरिया ३ का स्थानीयले गरे वडा कार्यालय घेराउ ,कामकाज प्रभावित

बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले भुमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न सरकारले लागू गरेको कार्ययोजना विपरीत कर संकलन गरेको भन्दै विरोध सुरु भएको छ ।

सुकुम्बासी समस्या समाधानका नाममा पालिकाले नितिगत रूपमा भ्रष्टचारको काम गरेको भन्दै बर्दगोरिया ३ का नागरिकहरु आन्दोलित बनेका छ्न । यसैक्रममा बिहिवार संगठीत रूपमा उनीहरूले वडा कार्यालय समेत घेराउ गरे । जसका कारण कामकारबाही प्रभावित बनेको छ । उनीहरूले वडा कार्यालय पश्चात् अहिले गाउँपालिकामा मागपत्रसहित विरोध प्रदशनको तयारी गरेका छ्न ।

पालिकाको चैत्र १० गते बसेको बैठकले एकैपटक जग्गाको चार वर्षको कर तथा चार किल्ला सिफारिसका नाममा दस्तुर लिने निर्णय गरेको थियो । सो बैठकले घरकरसहित सडकले नछोएको जमिनको प्रति कट्टा प्रति वर्ष ५० रुपैयाँ,  कच्ची सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ७५ रुपैयाँ,  ग्राभेल सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष एक सय रुपैयाँ,  महेन्द्र राजमार्ग बाहेकका अन्य कालोपत्रे सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष २ सय रुपैयाँ, महेन्द्र राजमार्गले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ५ सय रुपैयाँ र बगर क्षेत्रको प्रति कट्टा प्रति वर्ष २५ रुपैयाँका दरले विगत ४ वर्ष देखिको सुल्क उठाउने निर्णय लागू गरेको थियो ।

जसको तीव्र विरोध र आलोचना भैरहेको छ ।

प्रतिक्रया दिनुहोस्