अब १ वर्षको परीक्षणकाल अवधि पार गरेपछि मात्रै स्मार्ट लाइसेन्स

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि १ वर्षसम्म छुट्टै अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।

ट्रायल पास गरेको १ वर्षको अवधिलाई परीक्षणकाल मानेर सरकारले चालकहरुलाई छुट्टै लाइसेन्स दिन लागेको हो । यस्तो लाइसेन्समा क्यूआर कोड हुनेछ ।

उक्त कोड स्क्यान गरेपछि ट्राफिक प्रहरीले सवारी चालकको विवरण प्राप्त गर्नसक्ने छन् । सवारी चालकले तोकिएको मापदण्डअनुसार १ वर्षको परीक्षणकाल अवधि पार गरेपछि मात्रै स्मार्ट लाइसेन्स दिइने छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ट्रायल पास गरेको १ वर्षको अवधिका लागि छुट्टै कार्ड जारी गरिने जनाए ।

यस्तो कार्ड प्रयोगकर्ताले ट्राफिक नियम उल्लंघन गरेको पाइएमा ट्राफिक प्रहरीले लाइसेन्समा प्वाल पार्न सक्छ । ट्राफिक प्रहरीले कुनै व्यक्तिको लाइसेन्समा ५ पटक प्वाल पारिसकेको अवस्थामा त्यस्ता व्यक्तिलाई स्मार्ट कार्ड दिइने छैन ।

कसैको अस्थायी लाइसेन्समा ५ पटक प्वाल परिसकेको छ भने त्यस्ता व्यक्तिले पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने छ । ट्राफिक नियम उल्लंघन घट्ने विश्वासका साथ विभागले १ वर्षका लागि अस्थायी लाइसेन्स वितरण गर्ने तयारी थालेको छ ।

 

प्रतिक्रया दिनुहोस्