बुवाआमा गुमाएका तीन बालबालिकालाई कोहलपुरको बाल आश्रममा राखिने

कोहलपुर। बुवाआमा गुमाएका बर्दिया जिल्लाको बैढयाताल गाउँपालिका-४ सोरहवा गाउँका तीनजना बालबालिकालाई कोहलपुरको बाल आश्रममा राखिने भएको छ।

सोरहवाका मेगराज गन्धर्वको छोराको जन्डिस र बुहारीको क्यान्सरका कारण असामयिक निधन भएको थियो। ३ महिनाको अन्तरालमा बुवाआमा गुमाएका ६ वर्षीया अनु गन्धर्व, १२ वर्षीया आरती गन्धर्व र २ वर्षीय सानो छोरा साहाराबिहिन बनेका छन् भने १५ वर्षीय जेठो छोरा कामको शिलशिलामा आफन्तसँग भारत गएको बाजे मेगराजले बताए।

उनीहरुको यस्तो अवस्थाबारे जानकारी पाएपछि मानवका लागि मानव सहयोगी विकास केन्द्र बाँकेका उपाध्यक्ष नवीन पुन र सभ्यताको घर (बाल आश्रम) बाँकेका अध्यक्ष कृष्ण प्रसाद उपाध्याय उनीहरूको घरमा पुगेर तीन बालबालिकाको उचित पालनपोषण, शिक्षादिक्षा, औषधोपचार लगायतका जिम्मा आफ्नो संस्थाले लिने भनी घरपरिवारसँग सहमती गरेका छन्।

मानवका लागि मानव सहयोग केन्द्र बाँके र बालबालिकाको घरपरिवारबीच सहमती भइसकेको र स्थानीय वडाबाट सिफारिस पाएपछि कोहलपुर नगरपालिका-१२ मा स्थापित बाल आश्रममा राखिने सहयोग केन्द्रका उपाध्यक्ष पुनले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्