नाइजेरियामा हैजाका कारण ५० जनाको मृत्यु

काठमाडौ । नाइजेरियामा यस वर्ष हैजाका कारण अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो ।

त्यहाँको रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ ।

यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा आइहेक्वेजुले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिएका छन् ।

देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको बताइएको छ ।

 

प्रतिक्रया दिनुहोस्