भारतबाट फर्किनेहरुमा गरिएको परीक्षणमा संक्रमितहरु धमाधम फेला पर्दै

काठमाडौं । सरकारले भारतसंगको सीमानाकामा कडाई गर्नुका साथै एन्टीजेन परीक्षणको व्यवस्थामा चुस्त बनाएको छ । मुख्य नाकाहरुमा कडाई गरिए पनि आवतजावत गर्नेको संख्या घटेको छैन भने भारतबाट स्वदेश फर्किनेहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुर जिल्लामा एकै दिन १० जनामा कारोना संक्रमण पुष्टि हुँदा भारतबाट फर्किएकाहरु ५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबार महाकाली अस्पतालमा गरिएको परीक्षणमा ५ जना स्थानीय र भारतबाट आएका ५ जनामा कारोना पोजिटिभ देखिएको हो । भारतबाट आउनेहरुको हकमा गड्डाचौकी सीमानाकामा एन्टिजेन परीक्षण गरिदै आएको छ ।

गड्डाचौकी सीमानाकाबाट शुक्रबार १३ सय ४ जना नेपाली घर फर्किएका छन् । जस मध्ये १ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना संक्रमण पुष्टि भएको पाइएको हो ।

उता कोरोना माहामारीका कारण बन्द भएको विराटनरस्थित मुख्य नाका जोगवनी अहिले पनि खुलेको छैन । तर खुल्ला सीमाना भएका कारण आउने जानेहरुको भीड भने घटेको छ ।

जोगवनी नाका भएर आउनेको संख्या दैनिक ७ देखि ११ जनाको हाराहारीमा छ । तर चोरबाटोबाट आउने संख्या भने घटेको छैन । सरकारले मुख्य नाकाबाट आउनेहरुको हकमा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । तर यो नाका भएर आउनेमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको पाइएको छैन ।

सरकारले हरेक सीमानाकामा चेकजाँच कडा गरिए एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । तर अबैध मार्गबाट प्रवेश गर्नेहरुमाथि कुनै निगरानी हुन सकेको छैन । यस्ले गर्दा भारतमा फैलिएको भाइरसका नयाँ तीन प्रकारको प्रवेश नेपालमा पनि नहोला भन्न सकिदैन । त्यसैैले सीमामा अपनाइएको सतर्कतालाई थप व्यापक बनाउन आवश्यक छ ।

 

प्रतिक्रया दिनुहोस्