स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्याडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

रियललाई सानदार जित दिलाउनको लागि फरवार्ड करिम बेन्जेमाले दुई गोल र एक असिस्ट गरे । अल्भारो ओर्डिजोलाले एक गोल थपे ।  तीनै गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो ।

शीर्षस्थानमा उक्लिएको रियलले ३२ खेलबाट ७० अंक जोडेको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ७० अंक नै छ । तर, हेड टु हेडमा एट्लेटिको पछि परेको हो । पराजित क्याडिज ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

खेलको ३० औँ मिनेटमा बेन्जामेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई इसाक कार्सेलेनले लडाएपछि भिएआरको सहायतामा रियलले पेनाल्टीको अवसर पाएको थियो ।

३३औं मिनेटमा बेन्जेमाकै पासमा अल्भारो ओर्डिजोलाले गोल गर्दै रियललाई २-० ले अघि बढाए । ४०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खले रियलले जित्यो ।

 

 

 

प्रतिक्रया दिनुहोस्