“काम कुरा एकातिर, क्रेटा कार कोहलपुर नगरपालिका तिर”- शाही

कोहलपुर नगरपालिकाले यस्तो विषम परिस्थितिमा एम्बुलेन्स नकिनी बिलासिताको साधन मानिने Hyundai को Creta किन्नु सदाचार नितिले नसुहाउने हो

सरोज राज शाही

जब समस्याहरुको पहाड लाग्दै जान्छ तब मान्छे निरासा र आशावादी हुँदै जान्छ, न कोहि कसैले केही गरिदिन्छ कि बाच्नलाइ ईश्वरको भरलिन बाध्य हुन्छ मान्छे।

स्थिती भयवहक हुँदै छ, मर्ने रहर कसैको हुँदैन तर पनि डरको जिन्दगी जिउन बाध्य हुन्छ। अहिले बाँकेमा कोरोना महामारी व्यापकरुपमा बढिरहेको छ, परिस्थिति जटिल बन्दै गहिरहेको छ, यहि बढ्दो महामारीको समयमा कोहलपुर नगरपालिकाको चर्चा, परिचर्चा बढिरहेको छ। औसत नेपाली आज हातमुख जोर्ने समस्याले आक्रान्त छन्। कोहलपुर नगरपालिकाले यस्तो विषम परिस्थितिमा एम्बुलेन्स नकिनी बिलासिताको साधन मानिने Hyundai को Creta किन्नु सदाचार नितिले नसुहाउने हो।

मेरो लेखलाई म दन्त्यकथा बाट शुरु गर्न चाहे, एउटा गाउँमा ९० वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेलखान मन लाग्यो र बूढीलाई भन्यो, ‘हेर बूढी! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म बजारमा गएर तेल मागेर ल्याउँछु। अनि हामी सेल पकाएर खाउँला।’ यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो। दुबैले अलिअलि तेल र चामल मागेर ल्याए। सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली। जम्मा पाँच वटा सेल पाकेछ। त्यसपछि बूढोले भन्यो, ‘हेर बूढी तैंले मलाई मान्नैपर्छ। तँ दुइटा सेल खा, मचाहिं तीन वटा खान्छु।’ बुढीले भनी, ‘अहँ, हुदैन, पकाउने म, त्यसो हुनाले म तीन वटा खान्छु, तिमी दुई वटा खाऊ।’ बूढा- ‘हुँदैन, मैंले रहर गरेर पकाएको म तीन वटा खान्छु, तँ दुई वटा खा।’ यस्तो गर्दागर्दै दुई बूढाबूढीको झगडा भयो। सेल दुबैले खान सकेनन्।

सेल सेलाउँदै गयो। कसले कति खाने भन्ने कुरो नटुङ्गिएकोले बूढाले बूढी सँधै बिहान चाँडै उठ्ने भएकोले एउटा जुक्ति सोचेर बूढीलाई भन्यो, ‘हेर बुढी! त्यसो भए म एउटा कुरा भन्छु सुन्। यो सेल सन्दूकमा राखेर हामी दुबैजना सुतौं। चाँडो उठ्नेले दुई वटा सेल खाने, ढिलो उठ्नेले तीनवटा खाने है तर?’ बूढीले पनि हुन्छ भनी। त्यसपछि सेल सन्दुकमा राखेर बूढाबुढी सुते। भोलिपल्ट बिहान दुबै बिउँझिन त बिउँझे तर उठूँ भने दुईवटा सेलको फेला पर्ने भएकोले पहिले ऊ उठ्ला र दुइटा सेल उसले खाला अनि म तीन वटा खान्छु भन्ने सोच्दासोच्दै तीन दिन तीन रात बितेपछि पनि दुइमध्ये कोही पनि उठेनन्।

गाउँले छिमेकीहरूले बूढाबूढीको दैलो नखुलेकोले बूढाबूढी मरेछन् कि क्या हो भन्ने सोचेर दैलो खोली भित्र पसेर हेरे। दुबै बूढाबूढी मरेजस्तो भएर सुतिरहेका थिए। गाउलेहरूले बूढाबूढी मरेछन् भन्ठानी दुबैलाई एकै टाँडमा बाँधी पाँच जना मलामी भई मसानमा पुर्याए। अनि चिता बनाई चितामाथि ती बूढाबूढीलाई सुताई छ्वालीको राँको बालेर पहिले बूढाको शिरमा राँको लगाए। बूढालाई राँकोले सार्है पोल्यो। अनि ऊ ‘आत्थु बाबा, म दुइटा खान्छु, तैं बूढी तीन वटा घिच्।’ भन्दै जुरुक्क उठ्यो। बूढो उठेको देखी बूढी पनि हाँस्दै ‘म तीनवटा खान्छु’ भन्दै जुरमुराउँदै उठी। पोल्न लागेका मुर्दाहरू यसरी दुईवटा खान्छु र तीनवटा खान्छु भन्दै जुर्मुराउँदै उठेको देखेर अब हामी पाँचै जनालाई मसानमा मुर्दाले खाने भए भनी पाँचै जना मलामीहरूले त्यहाँबाट सुँइकुच्चा ठोके।

यो दन्त्यकथा जस्तै मेरो यस नगरपालिकाको मेयरसाबले गर्नु भएको छ, जनताको अपेक्षा र सत्तामा हुनेको सोचमा रहेको यहि खाडल आजको ठूलो समस्या हो। कोहलपुर नगरपालिकामा कोरोनाको बिरामीलाई अस्पतालसम्म पुर्याउने एउटा एम्बुलेन्स छैन तर Hyundai को झण्डै ५० लाख पर्ने Creta भित्रीएको छ।

यति हुनु नै थियो स्रोत र साधन त अलिअलि भएनी राख्नुपर्ने हो, लाखौं पर्ने गाडी किनि जनताको पसिनामाथी रजाइ गर्नेलाई राष्ट्रको ढुकुटीमा पैसा हुन्छ, स्वास्थलाई भन्दा विलासिताको सामाग्रीलाई ख्याल गर्नेहरू सधैं सरकारमा पुग्छन् जनता सधै समस्यामा। भनिन्छ, घमण्ड राम्रो होइन, टुक्राटुक्रा हुनु अघि खुत्रुकेले पनि सोच्छ रे यो सबै पैसा मेरै हो।

यी कुराहरु मनन गर्न जरुरी छ, के कुरा आवश्यक छ भन्ने कुरा निर्क्यौल गर्न अत्यन्तै जरुरी हुन्छ! यस्ता कार्यहरुमा सच्चिन जरुरी छ, तसर्थ सहि कार्यमा तालि बजाउँछौं, गलत कार्यमा गाली पनि बजाउँछौं।

यस्तो विषम परिस्थितिमा सबैलाई सजक अनि सुरक्षित हुन आग्रह गर्दै मेरो कलमको बिट मार्दै भन्छु, “आफू पनि बचौं अरुलाइ नि बचाऔं!” धन्यवाद!!

 

  • सरोज राज शाही
    कोहलपुर-११, बाँके

प्रतिक्रया दिनुहोस्