मैत्रीपूर्ण फुटबल खेल्न नेपालसँग इराकको प्रस्ताव

काठमाडौं। एसियन कपको उपाधि जितिसकेको इराकले मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालसँग प्रस्ताव गरेको छ।

इराक फुटबल संघका अनुसार मैत्रीपूर्ण फुटबलका लागि नेपाललाई प्रस्ताव पठाएको र अखिल नेपाल फुटबल संघ एन्फाबाट स्वीकृत पाएको आफ्नो वेवसाइटमा जनाएको छ।

यता एन्फाले भने मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य भइरहेको जनाएको छ। ‘इराकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको छ। त्यसबारे छलफल र गृहकार्य भइरहेको छ। अहिलेसम्म अन्तिम निर्णय भने भइसकेको छ।’ एन्फाले स्रोतले भन्यो ।

इराक फुटबल संघको वेवसाइटमा प्रकाशित जानकारी अनुसार खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ। पछिल्लो समय कोभिड-१९ को बढ्दो प्रभाव र सुरक्षाको विभिन्न मापदण्डका कारण खेलको निर्णय हुन बाँकी रहेको एन्फा स्रोतले जनाएको छ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसंग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको हो। इराकले छनोटको तयारी स्वरुप दुई खेल खेल्न लागेको र मे २४ मा ताजिकिस्तानसंग खेल्ने त्यहाँको संघले जनाएको छ।

प्रशिक्षक स्ट्रिको काटानिकले दुई मैत्रीपूर्ण खेलको माग गरेपछि दोस्रो मैत्रीपूर्ण खेल नेपालसँग खेल्न लागेको हो। फिफा वरीयतामा इराक ६८औं स्थानमा रहेको छ भने नेपाल १७१औं स्थानमा रहेको छ।

विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराक ५ खेलबाट ३ जित २ बराबरीसहित ११ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। सोही समूहमा इरान, बहराईन, हङकङ र कम्बोडिया छन्।

यस्तै समूह ‘बी’ मा रहेको नेपाल १ जित र ४ हारको नतिजासहित चौथो स्थानमा रहेको छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। नेपालले छनोटमा तीन खेल खेल्न बाँकी छ।

नेपालले अब चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग खेल्ने बाँकी छ। एसियाली फुटबल महासंघ एएफसीले बाँकी खेलहरु मे ३१ देखि जुन १५ सम्म न्युट्रल भेन्युमा गर्न प्रस्ताव गरेपछि नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने पछिल्लो निर्णय भएको छ।

नेपाले इराकसंग मैत्रीपूर्ण खेल खेलेमा नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ।

प्रतिक्रया दिनुहोस्