अक्सिजन सिलिण्डरमा भन्सार शुल्क मिनाहा गर्न अर्थलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरण आयात सहज बनाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ।

कोभिड संकट गहिरिँदै जाँदा हुनसक्ने अक्सिजन अभाव चिर्न अक्सिजन ग्यासको सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरणमा भन्सार महसुल, अन्तशुल्क र भ्याट मिनाहा गर्न स्वस्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयले जनाएको छ।

अक्सिजन सिलिण्डर र त्यसको प्रयोगका लागि चाहिने सामग्रीहरुमा लाग्ने भन्सार महसुल मिनाहा गर्न स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताए। ‘स्वास्थ्यबाट भन्सार महसुल मिनाहा गर्न प्रस्ताव आएको छ, हामी यस विषयमा के गर्ने भनेर छलफल गर्दैछौं’, सहसचिव दंगालले भने। ती वस्तुको भन्सार महसुल कति छ र कसरी सहजीकरण गर्ने भन्ने निर्क्यौलमा पुगेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइने उनले बताए।

कोभिड संकट गहिरिँदै गएपछि अत्यावश्यक सामग्रीको आयातमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको अर्थ सचिव शिशिर कुमार ढुंगानाले बताए। स्वास्थ्य सामग्री त झनै पहिलो प्राथमिकतामा भएको र आएका प्रस्तावलाई छिटो टुंग्याउन मातहतका निकायलाई निर्देशन भएको सचिव ढुंगानाले बताए। स्वास्थ्य सामग्री र त्यसमा पनि अक्सिजनको आयात सहजीकरणमा मन्त्रालयले कुनै ढिलाइ गर्दैन, हामी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँछौं’, सचिव ढुंगानाले भने।

स्वस्थ्य मन्त्रालयको प्रस्ताव स्वीकृत भए र अक्सिजनको एक सिलिण्डर खरिदमा चार हजार रुपैयाँ सस्तो पर्न जाने नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ। चीनबाट आयात हुने खाली एउटा सिलिण्डरको मूल्य नेपालसम्म आइपुग्दा २० हजार रुपैयाँ पर्ने संघका महासचिव नारायण दत्त तिमिल्सिनाले बताए। अहिले अक्सिजन सिलण्डर आयात गर्दा भ्याट, भन्सार महसुल र अन्तशुल्क गरेर २९ प्रतिशत महसुल लाग्ने उनले बताए।

प्रतिक्रया दिनुहोस्