निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न उद्योग परिसंघको माग

काठमाडौं। नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ।

कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ।

खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्टट्रयाकमा अनुदान प्रदान गर्नुपर्ने परिसंघको भनाइ छ। कठिन अवस्थामा समेत आपूर्ति व्यवस्थालाई सुदृढ गर्न उद्योग-व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई प्राथमिकताका आधारमा खोप लगाउन समेत परिसंघले माग गरेको छ।

क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई आयकरमा छुट दिन माग गरेको छ। परिसंघको सोमबार बसेको आकस्मिक बैठकले कोभिड नियन्त्रण गर्न ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दै यस्तो बताएको हो।

कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटरलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्न समेत परिसंघले सरकारको ध्यानाकर्षण गराएको छ। यी क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गुर्नपर्ने भन्दै परिसंघले आयकरमा छुट दिन माग गरेको हो। यसले महामारी विरुद्धको लडाइँमा युद्धस्तरमा खटिन सहयोग पुग्ने अपेक्षा परिसंघको रहेको छ।

प्रोटोकल पुरा गरी उद्योग खोलौं

परिसंघले सुरक्षाका प्रोटोकल पुरा गरी उद्योग भने संचालनको वातावरण बनाउन माग गरेको छ। दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि समेत उद्योगको संचालन अपरिहार्य रहेको भन्दै प्रोटोकल तयार गरी संचालन गर्नुपर्ने तर्क परिसंघको छ।

परिसंघले कुनै कर्मचारी र मजदुरमा लक्षण देखिएमा पीसीआर गराउने र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न भने उद्योगी-व्यवसायीसँग आग्रह गरेको छ। जिल्लामा रहेका होटेललाई सहमतिको आधारमा कोभिड केयर सेन्टर वा अस्पताल बनाउन समेत व्यवसायीले माग गरेका छन्।

प्रतिक्रया दिनुहोस्