सडक खन्ने क्रममा सुक्खा पहिरोले स्काभेटर पुरिँदा अपरेटरको मृत्यु

रुकुम (पूर्व)। जिल्लाको भूमे गाउँपालिका-८ मा सडक खन्ने क्रममा स्काभेटर पुरिएर एकजनाको मृत्यु भएको छ। भूमे-८ स्थित पुर्साबाङमा सडक खन्ने क्रममा माथिबाट आएको सुक्‍खा पहिरोले रा१क १२३३ नम्बरको स्काभेटर पुरिँदा अपरेटरको मृत्यु भएको हो।

आइतबार अपराह्‍न करिब साढे ४ बजेतिर सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले पुरिँदा स्काभेटरका अपरेटर भूमे-१ लुकुमका ४२ वर्षीय कर्णवीर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ प्रहरी घटनास्थलमा पुगेको थियो। सोमबार बिहानबाट मात्र पहिरोमा पुरिएको स्काभेटरबाट शव उद्धार गरिएको इलाका प्रहरी कार्यालय भूमे-२ खाबाङ बगरका इञ्चार्ज शुविन शाहले जानकारी दिए। शाहका अनुसार पुर्साबाङ-रुकुमकोट-कुचिवाङ-कोर्जा-तामरी-लावाङ कृषि सडक खण्ड खन्ने क्रममा पुर्साबाङमा उक्त घटना भएको हो। उक्त सडकखण्ड साकार निर्माण कम्पनीले ठेक्का लिएर काम गर्दै रहेको हो।

प्रतिक्रया दिनुहोस्