कोरोनाविरुद्ध बर्दगोरियाका टोलटोलमा प्रहरी सचेतना तीब्र, स्थानीय सरकार भने मौन !

रमेश बम, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय सरकारको मौनताकाबिच प्रहरीले कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाको टोलीले यहाँका मुख्य दुई बजार मुडा र बौनिया बजार र आसपासका क्षेत्रमा माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत जिल्लामा कोरोना भाइरस समुदाय स्तरमै फैलिएको बताइ यही १६ गतेदेखि लकडाउनको घोषणा गरिसकेको वेला प्रहरीले पनि आफ्नो सक्रियता देखाएको हो । तर यतिबेलासम्म स्थानीय सरकार बर्दगोरिया गाउँपालिका भने मौन जस्तै देखिन्छ ।

प्रहरीको टोलिले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले बर्दगोरियाका मुख्य बजार बौनिया ,मुडा र आसपासका क्षेत्र तथा चोकमा सचेतनामूलक अडियो बजाएर कोरोना विरुद्ध सचेतना जगाउदै आएको छ ।

यसअघि देखिएको कोरोना भन्दा कोरोनाको नयाँ भेरियन्ट बढी घातक भएको भन्दै नागरिकहरुलाई सचेत गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यो कार्यक्रम गरिएको इप्रका बौनियाका प्रहरी प्रमुख निरीक्षक भिमदत्त जोशीले बताए । यतिमात्र नभैइ प्रहरीले माक्स बिना बजार आवातजावत गर्नेलाई कारबाही सम्म गर्ने अभियान थालेको छ ।

प्रहरीले बजार क्षेत्रका व्यापीरी, सर्वसाधारण, किनमेल गर्ने व्यक्ती तथा अनावश्यक रूपमा घुमिरहेका व्यक्तिहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्न बेला बेला आग्रह गर्दै आइरहेको छ । यति मात्रै नभएर कोरोनाबाट बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बारेमा माइकिङ समेत गरिरहेको छ ।

यसैगरी अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौ, मास्कको अनिवार्य प्रयोग गरौँ, बेलाबेलामा साबुन पानीले मिचिमिची हात सफा गरौँ, सामाजिक दुरी कायम गरौँ लगायतका सन्देशहरू माइकिङ मार्फत प्रवाह गरिएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्