आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।

‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई ३ दशमलव १ प्रतिशत प्राप्त हुने प्रक्षेपण गरेको हो । सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गर्दै आएको छ । एडीबीका अनुसार २०७९/८० मा ५ दशमलव १ प्रतिशत हुनेछ ।

एडीबीका अनुसार गतवर्षको तुलनामा चालू आवमा मूल्यवृद्धिमा समेत कमी आउनेछ । सन २०२० मा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत रहेकोमा चालू वर्षमा ५ प्रतिशतमा रहने अनुमान एडीबीको छ । दोस्रो चरणको कोरोना फेरि पैmलिए अनुमान मिल्न नसक्ने रहेको एडीबीको भनाइ छ ।

अहिले गरिएको प्रक्षेपणमा मुख्यतः नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेशन अभियानका कारण आर्थिक गतिविधि चलायमान हुने अपेक्षा एडीबीको छ । कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ४ प्रतिशतले बढ्ने र मौसम अनुकूल भएकाले धान उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र बन्दाबन्दी खुलेयता बिस्तारै चलायमान भएको प्रतिवेदनमा उल्लेख गरेको छ । ठूला, साना तथा मध्यम खालको उद्यमशीलतालाई कोरोनाले असर पुर्‍याएको एडीबीले उल्लेख गरेको छ । बन्दाबन्दीपछि निर्माणको काममा आएको वृद्धि तथा ठूला आयोजनाको निर्माण सम्पन्न हुँदै गर्दा यसले अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुगेको एडीबीले बताएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पहिलो चरणको उत्पादन शुरू हुने र मेलम्ची खानेपानीको वितरण शुरू भइसकेकाले निर्माण क्षेत्रमा २ दशमलव ५ प्रतिशतले वृद्धि हुने समेत एडीबीले बताएको छ । सेवामूलक क्षेत्र ३ दशमलव ४ प्रतिशतले बढ्नेछ ।

पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किन अझै केही समय लाग्नेसमेत एडीबीको भनाइ छ । यसअघि गत चैतमा विश्व बैंकले चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकको पूर्वानुमान थियो । वैशाख शुरू भएयता नेपालमा दोस्रो चरणको कोभिडले भयावह रूप लिन थालिसकेको खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्