कोरोनाका बिरामीको उपचार सहज बनाउन कैलालीका सीडीओलाई उपप्रधानमन्त्री पोख्रेलको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका बिरामीको उपचार सहज बनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई निर्देशन दिएका छन् ।

कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे टेलिफोनमार्फत जानकारी लिँदै उपप्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएका हुन् ।

कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई सिधै टेलिफोन गरी जानकारी लिएका हुन् ।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण भइरहेको होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी गराएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरूपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए । खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

 

 

प्रतिक्रया दिनुहोस्