आज मातातिर्थ औशी, आमाको मुखहेर्ने दिन, आमाप्रति श्रद्धाभाव प्रकट गरि मनाइदै

काठमाडौं । आज मातातिर्थ औशी अथार्थ आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा मातातीर्थ औंशीलाई पर्वका रुपमा मनाइछ।

यसदिन विशेषगरि छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ । त्यस्तै आमाले पनि आफ्ना सन्ताहरुलाई आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् ।

आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । तर यसपालि कोरोना महामारीका कारण भने देशका सबै मठ मन्दिरमा आवतजावत र पुजापाठमा रोक लगाइएको छ ।

स्वस्थानी व्रत कथाअनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यस ठाउँमा आएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख सन्तोष पाउने विश्वास रहिआएको छ ।

अर्को किंवदन्तीअनुसार भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेको समेत भनिन्छ । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भई दुवै पक्ष आकुलव्याकुल भए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले गङ्गामाताको स्तुति गर्दै जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन पाउँदा उनको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूतिर्तकोरिन पुग्यो ।

अर्को किंवदन्तीअनुसार प्राचीनकालमा उक्त स्थानमा घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई ‘हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू’ भन्ने वाचाका साथ छोरालाई सम्झाइबुझाई फर्काइदिइन् । त्यसै समयदेखि नै यो तीर्थको नाम मातातीर्थ रहन गएको हो ।

 

प्रतिक्रया दिनुहोस्