कैलालीमा अब खाद्य र तरकारी पसल हप्ताको तीन दिनमात्र खोल्न पाइने

कैलाली । कोरोना महामारी नियन्त्रणका लागि कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याइएको छ। जिल्लामा कोरोना संक्रमण संगै मृत्यु हुनेको सङ्ख्या बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेषज्ञा जारी गर्ने निर्णय भएको थियो। विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जिल्लामा तीब्र रुपमा बढ्दै गइरहेको र जोखिम उच्च हुँदैजादा जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ।

यसैगरी अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ । यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका सम्पुर्ण मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नपर्ने छ ।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्