एक कल फोनमा घरमै चिकित्सक

रौतहट । रौतहटको राजदेवी नगरपालिकाले ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर घरदैलोमै स्वास्थ्य सेवा दिइरहेको छ । फोन गर्नेबित्तिकै चिकित्सकसहितको टोलीले घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो ।

कोरोना महामारीमा सर्वसाधारण त्रासका कारण स्वास्थ्य संस्थासम्म नपुग्ने गरेकाले ‘¥यापिड रेस्पोन्स टिम’ बनाएर सेवा दिन थालिएको नगरपालिकाका स्वास्थ्य संयोजक चन्देश्वर साहले बताए । ‘ज्वरो, रुघाखोकी, श्वास लिन कठिनाइ, टाउको दुख्नेजस्ता समस्या सर्वसाधरणमा देखिएकाले लक्षणको आधारमा स्वास्थ्य परीक्षण गरेर औषधी दिने गरेका छौं’, उनले भने ।

कोरोना संक्रमणको लक्षणका आधारमा एन्टिजेन तथा पीसीआर परीक्षणको व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । कोरोना संक्रमण भएर अक्सिजन आवश्यक परेका बिरामीका लागि वडा–३ चण्डियामा रहेको अस्पताल भवनमा १० बेडको आइसोलेसन बेड सञ्चालनमा छ ।

एक कल फोन गर्नेबित्तिकै घरमै चिकित्सकको टोली पुग्ने र उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवोध साहले बताए ।

‘नगरबासीको स्वास्थ्यप्रति पालिका गम्भीर छ’, उनले भने, दुई जना डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीको ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर सेवामा खटिएका छौं ।’

उपचार अभावमा कोही नागरिकको मृत्यु नहोस् भनेर नगरपालिकाले आफूसँग भएको स्रोत–साधन र जनशक्ति उपयोग गर्दै आएको उनको भनाइ छ ।

राजदेवी नगरपालिकाको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेकालाई औषधोपचार तथा आवश्यक परे थप उपचारका लागि वीरगञ्जलगायत अन्य जिल्लामा लैजाने व्यवस्था मिलाएको जनाएको छ । आजको आर्थिक अभियानमा समाचार प्रकाशित छ ।

 

प्रतिक्रया दिनुहोस्