वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोड

काठमाडौं । पछिल्लो समय कर संकलनमा सरकारले अवलम्बन गरेको डिजिटल प्रणाली प्रभावकारी बन्न थालेको छ । कर भुक्तानी प्रणाली नगदरहित बनाउन सरकारले डिजिटल माध्यमलाई प्राथमिकता दिएसँगै यसको प्रभावकारिता बढ्दै गएको हो ।

कोभिड महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाका बीचमा पनि उत्साहजनक रूपमै राजस्व संकलन भएको सरकारी तथ्यांकले देखाउँछ ।

कोभिड महामारी बढेपछि वैशाख दोस्रो सातादेखि काठमाडौंसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको थियो । यसबीचमा कर तिर्न करदातालाई आन्तरिक राजस्व विभागसहित मातहतका कार्यालयले ताकेता समेत गरेका थिए । तर निजीक्षेत्रले कर तिर्ने समय थप्न आह्वान गरे पनि सरकारले सुनुवाइ गरेन ।

विभागका अधिकारीले सम्पूर्ण कर डिजिटल माध्यमबाट तिर्न ताकेता गरे । त्यसपछि कारबाहीमा पर्ने डरले पनि अधिकांशले समयमै कर तिरे । सरकारको ताकेतापछि करदाताले समयमै तिरेकाले वैशाखमा मात्रै ७७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

वैशाखमा करतर्फ सरकारको आम्दानी ७२ अर्ब ९१ करोड २१ लाख रुपैयाँ भएको छ । यसमध्ये आन्तरिक राजस्व विभागले ३२ अर्ब ४० करोड राजस्व संकलन गरेको विभागको प्रारम्भिक तथ्यांकले देखाउँछ । यो महीना विभागले ३३ अर्ब ९९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

विभागका अनुसार निषेधाज्ञाको बीचमा करदाताको सजिलोका लागि कनेक्ट आईपीस, ईसेवा जस्ता डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइएको थियो । फलस्वरूप वैशाखमा राजस्व संकलन लक्ष्यको नजिक पुगेको राजस्व संकलन शाखाका उपमहानिर्देशक मुक्ति पाण्डेले बताए । उनका अनुसार विभागले चालू आवको १० महीनामा ३ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ३ खर्ब ४२ अर्ब संकलन भएको छ । (आर्थिक अभियानबाट)

 

प्रतिक्रया दिनुहोस्